"अरुलाई सम्झाउन जति सजिलो हुन्छ नि आफ्नै मनलाई सम्झाउन किन यति गाह्रो ह ?
मन किन यति साह्रो जिद्दी भाको त् ? नजाने बाटो नजानु नि, थाहा हुदा हुदै ...!
त्यो बाटोले कहिँ पुगीदैन जुन बाटो हिडन यो मनले कर गरिराको छ ।
भने नि मन जिद्दी छ भनेको मान्दैन। … आखिर उसलाई उही बाटो जानु छ जुन बाटो मा हिडेर खुट्टा कम मन नै बढी दुखेको छ उफ भनेको मान्दैन हजार पटक सम्झाए फकाए हुदैन …. .… !
तिमीलाई एक्लै एक्लै बर्बराउने बानी नै परेको छ है ? साथीले म तिर ब्यंग गर्दै भन्यो।
मैले भने, दिमागको स्क्रु अलि ढिला भाको छ सायद मेरो, त्यसैले जता हावा चल्छ मन उतै भाग्छ वसमा छैन। जसरी उसलाई चाहनु नचाहनु, यो पनि मेरो वशमा छैन !
उसले भन्यो , उतै तिर छ मन … भन न जसलाई तिम्रो खबर सम्म थाहा हुदैन …. !
त्यसो होइन उसको पनि त् आफ्नो बाध्यता होला बिबसता होला,तिमीलाई थाहा त् छ !
आऊ बरु तिमीलाई फैज़ को एउटा शेर सुनाउछु ……. "और भी दुख है जमानेमे मोहब्ब्त के सिवा, राहते और भी है वस्ल कि रात के सिवा " …… !
कसैलाई दोष दिएर मात्र हामी निर्दोष बन्न सक्दैनौ । यति बुझ !
म सम्म आउन नसक्नु सायद उसको कुनै मजबुरी रहयो होला। हरेक कुराको negative point नै निकाल्नु पर्छ जस्तो त् लाग्दैन मलाई।
अनि तिमीले पनि नसंझिए हुदैन उसलाई, साथी मलाई सम्झाउने कोशिसमा छ ....!
उफ उसलाई के थाहा याद भन्या नशा जस्तो हुन्छ। जति याद आउछ उति मात लाग्छ, यसको लत लाग्छ त्यस पछि त्यो लत छुटाउन बर्सौ कम हुन्छ …। सम्झाउन सक्दिन अनि चुप हुन्छु म ….।
एकछिन मौनता छाउंछ ….।
मौनता तोर्दै म भन्छु उसलाई तिमीलाई थाहा छ, मलाई उसको कुन चै कुराले आफु तिर आकर्षित गरेको थियो ? उसको simplicity र honesty ले ..मलाई अहिले पनि कुनै पनि मान्छेको त्यहि गुणले सब भन्दा पहिले आकर्षित गर्छ।
"बाहिर एकनास झरी परिराको छ तर मन भित्र एक किसिमको छटपटी महसुस भैराको छ।" न कसैलाई सुनाउन मिल्ने न सहन सकिने यस्तो कहिले भाको छ तिमीलाई ….? म साथीलाई सोध्छु ।
"एक चोटी उसलाई सोध्ने मन छ … अचानक मन कसरी ढुंगा बन्छ ह ?"
सायद उसले पनि कुनै दिन कुनै ढुंगाको मन भाको संग मन साटेको थियो होला नि ? त्यहि भएर उसैको गुण उसलाई सरेको म साथीलाई भन्छु। …. साथी मलाई एकोहोरो हेर्छ र भन्छ,के कुरा गरिराको तिमीले, म बुझ्नै सक्दिन तिमीलाई ……म उसलाई भन्छु, नबुझेकै राम्रो !
म आफैले बुझ्न नसकेको कुरा तिमीलाई कसरि बुझाऊ। म Explain गर्ने कुरामा एकदम कमजोर छु मलाई आउदैन भन्दा पनि हुन्छ। anyway छोड यो कुरा …. !
जब उसको यांद आउछ नि मनमा साह्रै छटपटी हुन्छ । … किन यस्तो हुन्छ ह ? उसलाई दुखेको देखेर मलाई किन भित्र झन् बढी पिडा हुन्छ ? अनि उसको पिडा मलाई किन महसुस हुन्छ ह ?
सायद मेरो प्रश्न ले साथी दिक्क भाको छ ऊ केहि बोल्दैन। … तर मान्छे म पनि जिद्दी छु,उसलाई सोध्छु के तिमीलाई पनि यस्तै भाको थियो मलाई जस्तै ?
उसले बिगत सम्झिदै भन्यो, मलाई पनि सम्हालिन बहुत समय लाग्यो,अहिले पनि लड़खडाउछु बेला बेला तर सिक्दै छु, अ सिक्दै जाने छु सम्हाल्दै छु। बिस्तारै सबै सिक्दै जान्छौ, बस धैर्य राख्ने कोशिस गर … ।
म भन्छु उसलाई ,तर म उसको याद, उसको मायाको यो सौगातलाई के गरु ? कहाँ लुकाऊ ? मेरो मुश्किल सजिलो बनाइदेउ या नदुख्ने औषधि बताइदेउ। … साथी छक्क पर्दै भन्छ, म डाक्टर हो र …? भुल्ने कोशिस गर.…. !
"उफ यति सजिलो छ नि भुल्न ? दुनियां को सब भन्दा गाह्रो काम कसैको याद दिलबाट निकाल्नु र निको हुनु ।"
ठिक छ या आफैलाई बर्बाद गर साथी रिसाउदै भन्छ ...!
म थोरै मुस्कुराउने कोशिस गर्दै भन्छु, मैले अरु कोही नपाएर या नभेटेर life मा settle हुन् नसक्या होइन नि तिमीलाई सबै थाहा त् छ ! मेरो मनले मलाई अनुमति दिदैन। … अनि जसलाई मन र आत्माले स्वीकार गर्न जबरजस्ती गर्न परोस ऊ संग बेमनले लामो यात्रा गर्न सकिदैन मायालु यति बुझ !
म उसलाई भन्छु, ऊ जति याद आउंछ झन माया लागेर आउंछ,म त उसको मौनता संग पनि कुरा गरिरा हुन्छु .... तिमीलाइ थाहा छ जब हामी कुरा गर्दैनौ नि, तब पनि हामी एक अर्को संग मौनतामा कुरा गरिरा हुन्छौ ....! मौनताको पनि एउटा आफ्नै भाषा छ,मजा छ तिमी बुझ्दैनौ ...!
कमसेकम यो जन्ममा त् म तिमीलाई बुझ्न सक्दिन साथी मुख बिगार्दै भन्छ, अनि उसले वेवास्ता गर्दा तिमीलाई पिड़ा हुन्छ भनेर किन मन दुखाउछौ तिमी ?
हो मन दुख्छ,एकदम दुख्छ तर उसको त्यही बेवास्तापनले त मलाई आफै लाई वास्ता गर्न सिकाएको छ, भेटाएको छ ! उसलाई माया गर्न थाले पछि म आफैलाई माया गर्न थालेको छु ! म आफैलाई माया गर्न सिक्दै छु।
मैले यति बुझ्ने मौक़ा पाएको छु, यो संसार मा सबै चीज परिवर्तनशिल छ चाहें त्यों मान्छे होस,या कसैको मन होस या अरु कुनै चिज। यथार्थ स्वीकार गरेर अगाडी बढनु नै ज़िन्दगी रहेछ ! ज़िन्दगी मा acceptance चाहिदो रैंछ नत्र हामी एउटै situation मा स्टक भएर बस्न बाध्य हुन्छौ ! जिन्दगी बाध्यताको नाम त् होइन। भाग्यको नाम दिएर बेखुशीका साथ ज़िन्दगी बिताउन खोज्नु बुद्दिमानी पनि होइन नि ! मलाई त्यस्तो लाग्छ।
उफ् यो ज्ञानगुनका कुरा …. जाउ बरु तिमी गेरु वस्त्र लाएर ज्ञान बाडन… साथी ठट्टा गर्दै भन्छ। तिम्रो philosophy म बुझ्दिन !
हेर प्रभावित त् जसले पनि गर्न सक्छ तर कसैले तिमीलाई सहि बाटोमा सकारात्मक किसिमले परिवर्तन पनि गरोस यस्तो कम हुन्छ ! कोहि कसैको जिन्दगीमा आए पछि उसमा कहिले नसोचेको राम्रो परिवर्तन आउछ भने सम्झ ऊ सँग जीवनभरी साथ निभाउन सकिन्छ !
साच्ची भन्दै छु, ऊ मेरो ज़िन्दगीमा आएर धेरै कुरा सिकाएको छ ! म मा धेरै परिवर्तनहरू संगै ल्याएको छ जसलाई मैले सकारात्मक ऊर्जा को रूपमा लिएको छु !
अनि कसरी भनु म उसको मायाले,यादले मलाई पिडा मात्र दियो भनेर ... !
"बरु म उसलाई उही पिडा, उही दुःख, र उही तकलीफ दिन चाहादीन, जुन कुराहरू उसले पहिल्यै भोगेर आएको छ ! जो बीच बाटो बाट लुटिएर,ठगिएर म सम्म आएको छ, थोरै उम्मीद र धेरै अबिस्वास लिएर ।
म उसलाई यो बताउन चाहन्छु कि, ज-जसलाई तिमीले तिम्रो सफरमा भेटेर आयौ। केहि राम्रा केहि नराम्रा यादहरु बोकेर आयौ। जे तिमीले गुमाएर आयौ म त्यो सबको भरपाई त् गर्न नसकौला तर तिम्रो घाऊहरुमा तिम्रो दुखाईहरुमा मेरो मायाको लेप लाएर तिम्रो मनलाई निको बनाउने सानो कोशिस गर्न चाहन्छु ।
म उसलाई भन्न चाहन्छु, तिमी हास् दुनिया तिमी संग हास्छ,जब तिमी रुन्छौ एक्लै हुनेछौ, हो त्यहि एक्लै हुदा रोएको पल तिम्रो आसु पुछन म सधै तिम्रो साथमा रहु मात्र यती अनुमति देउ मलाई। ….कुनै ठुलो माग छैन मेरो तिमी संग …।
सुन,मेरो मन बेइमान छैन,मेरो आत्माले तिमी संग कहिले बेइमानी गरेको छैन।
खुब ध्यान दिएर मेरो कुरा सुनिरहेको साथी हल्का मुस्कानको साथमा मलाई ठट्टा गर्दै भन्छ, उफ यह मोहब्ब्ते और इसकी कहानिया। …… हा हा म संग बहुत कहानीहरु छ, बस तिमीले सुन्न सक्नु पर्यो, म साथीलाई भन्छु ।
Everyone has a Story…सबै जना संग एउटा कहानी छ र सबै जना कहानीको एउटा पात्र हो। मात्र त्यो कहानीलाई,भन्न,सुन्न या लेख्न सक्नु पर्यो।
तिम्रो वरिपरि यस्ता कति जना छन्, जो साच्चै तिमीलाई विना स्वार्थ हासेको,रमाएको, खुसि भएको र प्रगति गरेको हेर्ने चाहना राख्छन। ……त्यो कति जना मध्य एउटा म, बस उसलाई खुशी भएको र खुशीले हांसेको हेर्न चाहान्छु ! उसले धेरै प्रगति गरेको देख्न चाहन्छु।
कमसेकम उसलाई भित्र भित्रै चुपचाप दुखेर बाहिर बनावटी हांसो हांस्न नपरोस दुनियांको सामु .. उसलाई आफ्नै वास्तविक हांसोमा रमाएको हेर्ने मन छ ।
"सही ग़लत भन्दा पर बस म उसको खुशीको प्रार्थना गर्छु मेरो ईश्वर संग !"
#सृजना पुन, NP
No comments:
Post a Comment