खोज - कर्ण शाक्य
एउटा मानिसले जब अर्को मानिस संग सम्बन्ध गास्छ, त्यस सम्बन्धले एक - अर्का प्रति मायाको खोज गर्छ। तत्पश्चात् मायाले प्रेम जगाउछ, अनि प्रेमले फेरी पिरती ल्याउछ।
माया र प्रेमले झाँगिएको रुखमा खोजका अनेक हागाबिगाहरु उम्रिन्छ्न। माया र प्रेमको जीवनचक्रमा प्रेमले अधिकारको,अधिकारले कर्तव्यको अनि कर्तव्यले जिम्मेवारीको खोज गर्न थाल्छ।
खोज कुनै ठाउँ बाट सुरु भएर कहिँ अन्त हुदैन। खोज कल्पबृक्ष जस्तै एउटा बिशाल रुख हो। यसका अनगिन्ती हागाहरु आकाशमा झंगीन्छन र जराहरु पनि जमिन मुनि पुग्ने मात्र होइन,हागा -हागाहरु बाट समेत पनि उम्रेर जमिन सम्म पुग्छन।
खोज र अविस्कारको तृष्णा नभइदिएको भए सायद संसारमा संरचना हुने थिएँन। यो पृथ्बीको धरातलीय वास्तविकता नै खोज हो र यस्तो खोज कै आधारमा पृथ्बी पृथ्बी बन्न सकेको हो। होइन भने हाम्रो यो पृथ्बी अन्य जीवन रहित ग्रह जस्तै हुने थियो होला।
हाम्रो यो पृथ्बीमा चिसिएका हिउ र बरफले सुर्यको बाफलाई खोजी रहन्छन। सुर्यको भावबाट बनेका पानीको बाफले बायुमंडलको शितलता खोजि रहन्छ अनि जलका हरेक कण -कणले मलिलो माटो खोजिरहन्छन। तत्पपश्चात माटोको उर्वरताले जैविक विविधता खोजिरहन्छ। अनि त्यही बाट फेरी सुरु हुन्छ खोजै खोजको अन्तहीन चक्र।
हरेक मानिसको हृदय भित्र आ - आफ्ना भावना र चेतना उर्लिरहेका हुन्छन। खोज त्यहि भावना र चिन्तनको अर्को रुप हो।
आमाको कोख बाट जन्मना साथ मान्छे आफ्नो चेतना अनुरुप खोज तलाशको प्रक्रियामा लागी हाल्छ। सायद यो चिन्तन र ज्ञानले नै हाम्रो मनलाई घचघच्यायको छ।
हामी सधै तत्पर र उत्सुक भैरहन्छौ। ज्यासन देखि आर्मस्ट्रग सम्म,अलेक्जेन्डर देखि चंगेज खान सम्म, कोलम्बस देखि मार्कोपोलो सम्म कौतुहल पूर्ण भई अदृस्य सत्ता र ज्ञानको खोजका लागी पृथ्बी देखि अन्तरीक्ष सम्म भौतारिएर हिडे।
शान्तिको खोजमा बुद्दले भौतिक संसारबाट आध्यात्मिक जगतमा पाइला टेके। अहिंसाको खोजमा गान्धी, नेल्सन मण्डेला र मार्टिन लुथर किन्गले उपनिवेसवाद मात्र होइन,जातिवादको समेत जग उखेलेर फ्याके। दर्शनको खोजमा अरविन्दले जीवन समर्पण गरे।
भुदानको खोजमा विनोवा भावेले आफ्नो सम्पूर्ण समय यात्रा गरेर जीवनलाई त्वम शरणम गरे। विज्ञानको खोजमा आइन्स्टाइनलेहरुले जीवनको सम्पूर्ण समय बिताए।
प्रेमको खोजमा लैला -मजनुले जीवनदान गरे। त्यस्तै, हाम्रो नेपालमा प्रजातन्त्रको खोजमा दशरथ चन्द र गंगालाल श्रेष्ठहरु फासीमा चढे र गणतन्त्रको खोजमा प्रचण्ड र बाबुरामहरु बनवास गए।
यस्ता खोज हरुले जीवनको आरम्भ देखि अन्त्य सम्म मानिसलाई बच्ने बहाना दिन्छन र खोजपूर्ण प्रयासलाई मानिसले आ-आफ्नो दृस्टीकोणले अर्थपूर्ण वा व्य्रथपूर्ण बनाउछ।
कोहि प्रेमको खोजीमा,कोहि पैसाको खोजीमा, कोही शक्तिको खोजीमा कोही इज्जतको खोजीमा हुन्छन। हामी सधै खोजमा लागिरहेकै हुन्छौ।
आकन्क्षा नहुन सक्छ आशा नहुन सक्छ तर संसारको प्राणी यस्तो छैन, जो खोजको प्रक्रिया बाट अलग बस्न सकोस।
उसले बाच्नका निमित्त पनि केही न केही त् खोज्नै पर्छ। चाहे काम गरेर होस् वा मागेर। खोज विना मानिस त् के,कुनै प्राणी पनि बाच्न सक्तैन।
No comments:
Post a Comment